काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बाट पदमुक्त भएका दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् ।
स्रोतका अनुसार रिट दर्ताका लागि पेस भइसकेको छ । प्रक्रिया अघि बढिरहेको छ । सर्वोच्च जाने विषयमा कानुन व्यवसायीहरूसँग परामर्श गरेपछि उनले रिट दर्ता गर्न पुगेका हुन् ।
कार्कीले आफूलाई पदबाट हटाउनुअघि स्पष्टीकरण सोध्ने तथा आफ्नो कुरा राख्ने सुनुवाइको अवसर नदिइएको बताएका छन् । यही प्रक्रियागत त्रुटिलाई आधार बनाएर उनी सर्वोच्च पुगेका हुन् ।
रिट दर्ता भएपछि सर्वोच्च अदालतले यस विषयमा गर्ने प्रारम्भिक आदेश र सुनुवाइलाई चासोका रुपमा लिइएको छ । उनको पक्षबाट नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य र गोविन्द बन्दीसहितका कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।
The post सर्वोच्च पुगे पदमुक्त आईजीपी कार्की appeared first on khabarbindu.



