ट्रेन्डिङ

Logout

राजसंस्थासहितका मुद्दामा जनमत संग्रह गरौँ: दुर्गा प्रसाईं

2.7k Shares

नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश व्यवस्था र प्रत्यक्ष कार्यकारी प्रणालीबारे जनमत संग्रहमा जान सरकारले तयारी गर्नुपर्ने बताएका छन्। उनले यी संवेदनशील मुद्दामा जनताको प्रत्यक्ष मत लिनु नै अहिलेको देशको संकट समाधानको ‘अन्तिम र उत्तम विकल्प’ भएको दाबी गरे।

अन्तरिम सरकारसँग आफ्नो टोलीले विभिन्न औपचारिक माग राखेको बताउँदै प्रसाईंले भने, “यदि लडाइँ वा अस्थिरता चाहिँदैन भने अब जनमत संग्रहमै जानुपर्छ।”

उनका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालसँग यस विषयमा छलफल भइसकेको छ र गृहमन्त्रीले आफूहरू उठाएको मुद्दाप्रति सकारात्मक संकेत दिएका छन्। मागहरू कुनै पनि प्रकारले देश टुक्रिने वा विभाजनतर्फ उन्मुख नभएको दाबी गर्दै प्रसाईंले ती माग पूरा हुने सम्भावना ६० प्रतिशत रहेको बताए।

सरकारले आफूहरूको माग पूरा नगरे आन्दोलन अपरिहार्य हुने चेतावनी पनि उनले दिए। “यी मागहरू नेपाली जनभावनाका माग हुन्। पूरा भएनन् भने आन्दोलन हुँदै गर्छ,” प्रसाईंले भने।

उनले अन्तरिम सरकारले भ्रष्टाचार विरुद्ध कडा कदम चाल्न नसकेको आरोप लगाए। जेन–जी आन्दोलनलाई आधार बनाएर बनेको सरकारले अहिले त्यही आन्दोलनकारीहरूलाई थुनेको भन्दै सरकार गलत दिशामा गएको टिप्पणी गरे।

“जेन–जीको बलमा बनेको सरकारले अहिले जेन–जी अभियानकर्तामाथि नै दमन गरिरहेको छ। विद्रोहीहरूलाई थुनिनु हुँदैन,” प्रसाईंले जोड दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार