राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाले आज औपचारिक रूपमा पार्टी एकता घोषणा गर्ने भएका छन्। पार्टी एकता घोषणा कार्यक्रम आज दिउँसो राष्ट्रिय सभागृहमा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
रास्वपाका अनुसार असल शासन, पारदर्शिता र समुन्नतिलाई मुख्य एजेन्डा बनाएर दुवै दलबीच एकता प्रक्रिया अघि बढाइएको हो। एकता प्रक्रियाअन्तर्गत विवेकशील साझाले रास्वपाको नाम, नेतृत्व र चुनाव चिन्ह स्वीकार गर्दै निःसर्त रूपमा एकीकरणमा जाने निर्णय गर्दै आएको थियो।
विवेकशील अभियानको सुरुवात वि.सं. २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा भएको थियो। त्यसपछि वि.सं. २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा सहभागी भएको थियो।
रास्वपा भने तुलनात्मक रूपमा नयाँ दल हो, जसको स्थापना २०७९ असार ७ गते भएको हो।
दुवै दलको एकतापछि नेपाली राजनीतिमा नयाँ परिचर्चा र प्रभाव सिर्जना हुने अपेक्षा गरिएको छ।