काठमाडौं: नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग भएको आरोप लगाउँदै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारसँग जवाफ मागेकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भन्ने विवरण सञ्चारमाध्यमबाट सार्वजनिक भएको दाबी गरेकी छन्।
उनले उक्त घटनाले सत्ताको दुरुपयोग कसरी भइरहेको छ भन्ने स्पष्ट पारेको उल्लेख गरेकी छन्। देशमा सुशासनको सट्टा छाडातन्त्र हावी हुन थालेको उनको आरोप छ।
संग्रौलाले लोकतन्त्रको पहरेदारका रूपमा रहेको नेपाली कांग्रेसमाथि सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको आरोपसमेत लगाएकी छन्।
सत्तापक्षका गल्ती सार्वजनिक हुँदा त्यसको जवाफ दिनुपर्ने पालो सरकार र सत्तारूढ दलको भएको उनको भनाइ छ।
उनले प्रश्न गरेकी छन्, ‘कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ?’
संग्रौलाले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमाथि लागेको आरोपबारे सरकारको आधिकारिक जवाफ मागेकी छन्।






