नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उहाँ निकटका नेताहरूले आगामी प्रतिनिधिसभा निर्वाचनअघि पार्टी महाधिवेशन नगर्न आग्रह गरेका छन्। बिहीबार देउवाले महाराजगञ्जस्थित आफ्नो अस्थायी निवासमा निकट नेताहरूलाई बोलाएर छलफल गरेका थिए।
छलफलमा सहभागी नेताहरूले फागुन २१ गते तय भएको निर्वाचनअघि महाधिवेशन आयोजना गर्नु पार्टीका लागि हानिकारक हुने भन्दै स्थगित गर्न सुझाव दिएका छन्। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आफूहरूले चुनावअघि नियमित महाधिवेशन गर्नु उपयुक्त नहुने धारणा देउवासमक्ष राखेका थिए।
महतले देउवाको भनाइ उद्धृत गर्दै भने, “जे भए पनि अहिलेको समस्यालाई समाधान गर्न सहमतिमा जानुस् भन्ने निर्देशन दिनुभयो।” कांग्रेसभित्र नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन, भन्ने विषयमा विवाद चुलिएको छ। महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले पुसभित्र नै महाधिवेशन गर्नुपर्ने माग राख्दै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर पनि संकलन गरिसकेका छन्।
तर संस्थापन पक्ष चुनावअघि कुनै हालतमा महाधिवेशन गर्न नहुने अडानमा छ। विशेष महाधिवेशन पक्षधरले विशेष भेला गर्दै दवाब बढाइरहेका छन्। यही विवादका कारण कांग्रेस केन्द्रीय समिति बैठक एक महिनादेखि महाधिवेशनको अन्तिम निर्णय गर्न सकेको छैन।