नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। बुधबार बिहान धनगढी बजारमा प्लाकार्डसहित सडकमा उत्रिएका युवाहरूले बस्नेतविरुद्धको असन्तोष प्रकट गरेका थिए।
२३ र २४ को जेनजी आन्दोलनपछि एमाले नेतृत्वको सरकार पतन भएको पृष्ठभूमिमा बस्नेत निरन्तर जेनजी युवामाथि टिप्पणी गर्दै आएका छन्। यही कारणले विभिन्न स्थानमा उनीविरुद्ध विरोध जारी छ।
यसअघि ४ मंसिरमा बस्नेत बाराको परवानीपुर आउने खबर पाएपछि जेनजी युवाहरूले प्रदर्शन गरेका थिए, जसले दुई दिनसम्म सिमरामा असान्ति सिर्जना गरेको थियो। त्यस्तै, ७ मंसिरमा इटहरीमा आयोजित कार्यक्रममा जान लाग्दा बस्नेत चढेको गाडीमा दुई युवाले रातो रङ भरिएको बेलुन प्रहार गरेका थिए।
मंगलबार सुर्खेतमा पनि केही युवाहरूले बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै विरोध प्रदर्शन गरेका थिए। २३ र २४ को जेनजी आन्दोलनले एमाले नेतृत्वको सरकार विस्थापित गरेयता, सडकमा बोलेर विरोध प्रदर्शन गर्ने सबैभन्दा पहिले एमालेको तर्फबाट बस्नेत नै रहेका छन्।
त्यसपछि बस्नेत जहाँ गए त्यहाँ उनीविरुद्ध निरन्तर विरोध प्रदर्शन भइरहेका छन्।