प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिले तीव्र आलोचना बटुलिरहेको छ। एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले केही मुस्लिम परम्पराहरू अन्यायपूर्ण भएको उल्लेख गरेपछि उक्त समुदाय आक्रोशित भएको छ।
प्रधानमन्त्रीले कतिपय इस्लामिक महिलामाथि हुने दमन, शिक्षा अवसरबाट वञ्चित गरिनु, र कम उमेरमै बालिकाको विवाहजस्ता उदाहरण प्रस्तुत गरेपछि समुदायले अपमान महसुस गरेको बताइएको छ। नेपाली मुस्लिम नेताहरूका अनुसार, प्रधानमन्त्रीका टिप्पणीहरू असंवेदनशील र समुदायलाई गलत ढंगले प्रस्तुत गर्ने खालका भएकाले सुधारको विकल्प छैन।
मुलुकको कार्यकारी प्रमुखको गरिमासँग मेल नखाने उक्त अभिव्यक्तिप्रति डा. अबुल हुसैन अन्सारीले आपत्ति जनाएका छन्। जारी विज्ञप्तिमा उनले भनेका छन् कि प्रधानमन्त्रीको अभिव्यक्तिले समुदायका लागि निराशा र गैरजिम्मेवारीपूर्ण प्रभाव पारेको छ। यस्ता टिप्पणीहरूले लामो समयदेखि कायम आपसी सद्भाव र धार्मिक सम्मानमा असर पार्न सक्ने उनले चेतावनी दिएका छन्।
यसैबीच, मुस्लिम समुदायले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सामूहिक निर्णय र आगामी रणनीति निर्धारण गर्न माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा आज दिउँसो २ बजे भेला बोलाएको छ। डा. अन्सारीले सबै सदस्यलाई उक्त छलफलमा उपस्थित हुन आग्रह गरेका छन्।
समुदायका अगुवाहरूका अनुसार प्रधानमन्त्रीका अभिव्यक्तिले मुस्लिम महिलाको पहिचान र धार्मिक संवेदनशीलतामा चोट पुगेको छ। त्यसैले संयुक्त रूपमा औपचारिक प्रतिक्रिया, भावी कदम र सम्भावित विरोधका कार्यक्रमबारे छलफलको तयारी थालिएको छ। आजको भेला विभिन्न मुस्लिम संस्था, अभियन्ता, समुदायका युवा तथा स्थानीय प्रतिनिधिहरूबीचको समन्वयमा राखिएको बताइएको छ।