ट्रेन्डिङ

Logout

प्रधानमन्त्री सचिवालयद्वारा नातावाद आरोप असत्य भएको दाबी

3.8k Shares

प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा नातावाद आधारित नियुक्ति भएको भन्ने आरोपप्रति जेनजी फ्रन्टले आपत्ति जनाएपछि प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले आधिकारिक प्रतिक्रिया दिएका छन्।

जेनजी फ्रन्टले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नै परिवारका सदस्य तथा नातेदारलाई सचिवालयका विभिन्न पदमा नियुक्त गरेको भन्दै पाँच बुँदे मागसहित प्रधानमन्त्रीसमक्ष स्पष्टीकरण मागेको थियो। फ्रन्टले स्वकीय सचिवलाई पदमुक्त गर्न, गरिएका नियुक्ति खारेज गर्न र सुशासनको प्रतिवद्धता अनुसार तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेको थियो।

यस आपत्तिप्रति प्रतिक्रिया दिँदै रावलले विज्ञप्ति जारी गर्दै सबै नियुक्ति कानुनअनुसार भएको र नातावादको आरोप आधारहीन रहेको दाबी गरेका छन्। उनले सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (११औँ संशोधन) अनुसार प्रमुख स्वकीय सचिवको नियुक्ति प्रधानमन्त्रीले आफैँ गर्न पाउने व्यवस्था रहेको बताएका छन्।

रावलका अनुसार, प्रधानमन्त्रीले विश्वासिलो र नजिकबाट सहयोग गर्न सक्ने व्यक्तिलाई मात्र नियुक्त गरेकी हुन्। सुरक्षा संवेदनशीलता, उमेर र पारिवारिक अवस्था अनुसार आवश्यक भएमा रातदिन साथ दिनसक्ने व्यक्ति मात्र चयन गरिएको हो।

उनले थपे कि सचिवालयमा हाल ६७ जनाको दरबन्दी भए पनि केवल २० जना मात्रै कार्यरत छन्। कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सकिनेमा हाल २ जना मात्रै नियुक्त छन्, र १९ जना विज्ञ कर्मचारीको दरबन्दीमा ४ जना मात्र कार्यरत छन्। यसले देखाउँछ कि अत्यावश्यक कार्यका लागि मात्र सीमित जनशक्ति नियुक्त गरिएको हो।

विज्ञप्तिमा नातावादको आधारमा नियुक्ति गरेको भनी फैलिएका प्रचारप्रति आपत्ति जनाउँदै रावलले भने, “थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा नातेदार भनी भ्रम नफैलाउन।”

रावलले सरकार सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहेको बताउँदै सबैलाई ध्यान भंग गर्ने सामग्रीमा विश्वास नगर्न आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार