ट्रेन्डिङ

Logout

रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

4.8k Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी तथा तत्कालीन गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज (मंसिर ४) उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदैछ। सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनीहरूको मुद्दा आजका लागि पेसी तोकिएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

मिसिल अदालतमा आएपछि इजलास नम्बर ३ मा न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासमा मुद्दा नम्बर १ का रूपमा सुनुवाइ तालिका परेको छ। उच्च अदालतले यसअघि नै रवि र छविको मुद्दा एकैसाथ हेर्न आदेश गरेको थियो। गत हप्तामात्र न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दाको मूल मिसिल झिकाउन निर्देशन दिएको थियो।

रवि लामिछानेले बिगोअनुसारको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउन माग गरेका थिए। तर उच्च अदालतले उनीसँगै जोशीको समेत फाइल माग गर्दै दुवैको निवेदन सँगसँगै हेर्ने निर्णय गरेको थियो। इससेअघि उच्च अदालत बुटवलले रविको निवेदनमा कैफियत प्रतिवेदन पेश गर्न आदेश दिइसकेको थियो।

रवि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन्। आफ्नो भागको बिगो रकम बुझाए पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। साउन २६ गते जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले उनको निवेदन अस्वीकार गरेको थियो।

सुप्रिम सहकारी प्रकरणमा रविसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। रविले सोको एक भागबराबरको बिगो दाखिला गर्दै दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेस गरेका थिए। छविलाल जोशीले पनि यस्तै रकमको जमानत प्रस्तुत गरेका थिए। तर दुवैको भागमा कति बिगो पर्छ भन्ने निश्चित नभएकाले अदालतले थुनामुक्त गर्न नसकिने निर्णय सुनाएको थियो।

हाल रवि ललितपुरको नक्खु कारागारमा छन् भने छविलाल जोशी भैरहवा कारागारमा रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार