जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीको भूमिकामाथि तीव्र आलोचना गर्दै राज्यमा दोहोरो मापदण्ड कायम रहेको आरोप लगाएका छन्।
उनले दुर्गा प्रसाईले समाजमा विभाजन बढाउने भड्काउ अभिव्यक्ति दिएको र आफूले नागरिकता पाएको मिति समेत तोडमोड गरी भ्रम फैलाएको दाबी गर्दै गृहमन्त्रीले यस्ता व्यक्तिहरूलाई कानूनी रूपमा समान रूपमा कारबाही गर्न नसकेको टिप्पणी गरेका छन्।
गुरुङले भने, “दुर्गा प्रसाईपछि अझ कट्टर र उत्तेजक भाषा प्रयोग गर्नेहरू खुलेआम हिँडिरहेका छन्। शान्तिपूर्ण आन्दोलनमा उभिएका युवाको टाउकोमै लक्षित गरी गोली चलाउने पनि तिनै हुन्।
तर गृहमन्त्रीले तिनै व्यक्तिलाई समातेर छानबिन गर्ने साहस देखाउन सकेनन्।”
संविधानविद् र राज्यको प्रति आक्रोश व्यक्त गर्दै उनले थपे, “संविधानको कुन धारामा ‘सानालाई ऐन, ठुलालाई चैन’ लेखिएको छ? विधिको शासन नै लागू नहुने हो भने पुरानो शासन र अहिलेको बीचमा भिन्नता के रह्यो, गृहमन्त्रीज्यू?”
उनका अनुसार, न्याय मागिरहेका मृतक र घाइते युवाहरूको पीडा सुन्न सरकार तैयार छैन।
“कलिला युवाहरूको रगत, पसिना र बलिदानीकै आधारमा गृहमन्त्री कुर्सीमा बसेका छन्।
तर त्यही युवामाथि कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु परेन, शक्तिशालीहरू भने खुलेआम हिँडिरहेका छन्,” उनले आरोप लगाएका छन्।
गुरुङले अन्त्यमा भने, “मृतक र घाइतेहरूको न्यायपूर्ण सम्बोधन तथा सबै नागरिकलाई समान न्यायको भरोसा बिना चुनाव सम्भव हुँदैन।”