नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जाँचबुझ आयोगले बयानका लागि बोलाए लाखौँ कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने चेतावनी दिएका छन्।
बस्नेतले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै भनेका छन्, “रवि लामिछानेलाई जस्तै यदि ओलीको बयान लिन जाँचबुझ आयोगले बोलायो भने लाखौं कार्यकर्ता सिंहदरबार छिर्छन्।” उनले उक्त भनाइसँगै ओलीसँग खिचिएको एउटा तस्बिर पनि पोस्ट गरेका छन्।
उनको यो चेतावनी हाल जेनजी आन्दोलनपछि बनेको जाँचबुझ आयोगले धमाधम बयान लिइरहेको सन्दर्भमा आएको हो। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र हिंसात्मक घटनाको छानबिन गर्न सरकारले आयोग गठन गरेको थियो। आयोगले हालसम्म दर्जनौं व्यक्तिहरूको बयान लिइसकेको छ।
स्रोतका अनुसार, आयोगले तत्कालीन प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि बयानका लागि बोलाउने तयारी गरिरहेको छ।
तर, पूर्वप्रधानमन्त्री ओलीले आयोगको वैधानिकता र निष्पक्षतामाथि प्रश्न उठाउँदै बयानमा उपस्थित नहुने अडान लिँदै आएका छन्। ओलीका निकट स्रोतहरूका अनुसार, उनले आयोगलाई ‘राजनीतिक प्रतिशोधको उपकरण’ भन्दै अस्वीकार गरेका छन्।
यसैबीच, बस्नेतको उक्त चेतावनीले राजनीतिक वृत्तमा नयाँ बहस उत्पन्न गरेको छ। सत्तारूढ दलका नेताहरूले बस्नेतको अभिव्यक्तिलाई “कानूनी प्रक्रिया र राज्यसंस्थामाथिको दबाब सिर्जना गर्ने प्रयास” भनेर आलोचना गरेका छन्।
तर, एमालेभित्र भने बस्नेतको भनाइलाई “नेता र कार्यकर्ताप्रतिको आत्मीयता र प्रतिवद्धताको संकेत” भनेर व्याख्या गरिएको छ। पार्टीका केही नेताहरूले पनि ओलीविरुद्ध भइरहेको अनुसन्धानलाई “राजनीतिक चरित्रहत्या” भन्दै विरोध जनाइरहेका छन्।
अब आयोगले ओली र लेखकलाई कहिले र कसरी बयानका लागि बोलाउने भन्ने विषयमा सबैको नजर केन्द्रित भएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, यदि आयोगले ओलीलाई औपचारिक रूपमा समन गर्छ भने एमालेभित्र ठूलो प्रतिक्रियात्मक आन्दोलन चर्किन सक्ने सम्भावना रहेको छ।