प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई लोकतन्त्रको सबल आधारका रूपमा मताधिकारको जिम्मेवारीपूर्वक प्रयोग गर्न आग्रह गरेकी छिन्। उनले आगामी प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै सबै योग्य नागरिक, विशेषगरी युवापुस्तालाई, मतदाता नामावलीमा नाम दर्ता गरेर विवेकपूर्ण रूपमा मत प्रयोग गर्न आह्वान गरेकी हुन्।
आज भिडियो सन्देशमार्फत प्रधानमन्त्री कार्कीले भनिन्, “हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक मतदाता परिचयपत्र हुनु जरुरी छ। मतदाता परिचयपत्र केवल एउटा कागज होइन, यो हाम्रो अधिकार र जिम्मेवारीको प्रमाण हो।”
निर्वाचन आयोगले देशभर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यही कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलनकार्य सञ्चालन गरिरहेको छ। यस सन्दर्भमा प्रधानमन्त्री कार्कीले सबै युवालाई समयमै नाम लेखाउन आग्रह गरेकी छिन्।
उनले भनिन्, “जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ। त्यसपछि विवेकका साथ योग्य प्रतिनिधि छान्नुपर्छ। तपाईंहरू आफैं पनि सही प्रतिनिधि बन्न सक्नुहुन्छ।”
प्रधानमन्त्रीले नागरिकलाई विद्यमान बेथितिहरूसँग लड्न र देश विकासमा सक्रिय भूमिका खेल्न प्रेरित गर्दै भनिन्, “देश बदल्ने शक्ति हाम्रै हातमा छ। त्यसका लागि हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ। मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔँ।”
उनको सन्देशले आगामी निर्वाचनमा युवाहरूको सहभागिता र लोकतान्त्रिक अभ्यासमा जागरूकता वृद्धि गर्ने अपेक्षा गरिएको छ।