मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले भाषाको संरक्षण र विकासका लागि ती भाषाहरूलाई जनजीविकासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। उनका अनुसार, विश्वका धेरै भाषाहरू जनजीविकासँग सम्बन्ध स्थापित गर्न नसक्दा लोप भएका उदाहरण इतिहासमा प्रशस्त छन्, त्यसैले नेपाली भाषिक तथा सांस्कृतिक सम्पदालाई पनि जीवनशैलीसँग जोडेर संरक्षण गर्न जरुरी छ।
नेपाल इङ्ग्लिश ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (NELTA)ले आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोनलले भने, “इङ्ग्लिश विश्वव्यापी रूपमा प्रभावकारी भाषा बनेको छ, तर विद्यार्थीले आफ्ना परम्परा र मातृभाषाको ज्ञान पनि सँगसँगै लिनुपर्छ।” उनले शिक्षाको उद्देश्य केवल प्रतिस्पर्धा होइन, जीवनको मूल र सार्थकतालाई समेट्ने हुनुपर्नेमा जोड दिए।
सम्मेलनका प्रमुख अतिथि सोनलले सामुदायिक विद्यालयमा इङ्ग्लिश विषयको अध्यापनको अवस्था सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गरे। विद्यार्थीहरूलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक भए पनि, शिक्षकहरूले उनीहरूमा संस्कार, मूल्य र नैतिकताको संरक्षणमा पनि ध्यान दिनुपर्ने उनले सुझाव दिए।