लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललाई बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा आयोजित विशेष सम्मान कार्यक्रममा सम्मानित गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि एवं लोसपा अध्यक्ष महन्थ ठाकुरले मुख्यमन्त्री सोनलको मधेश आन्दोलनमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे।
उनले भने, “जितेन्द्र सोनलले मधेशको हकअधिकारका लागि सधैं अग्रपंक्तिमा नेतृत्व गर्नुभयो र अहिले जनताको भरोसामा सरकार सञ्चालन गर्दै जनसेवामा समर्पित हुनुहुन्छ।” ठाकुरले लोकतान्त्रिक मूल्य र संघीयता बलियो बनाउन लोसपाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पार्टीभित्र एकता र सहकार्यलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए।कार्यक्रममा लोसपाका नेताहरू, संघीय लोकतान्त्रिक मोर्चाका प्रतिनिधि, विभिन्न जिल्लाका कार्यकर्ता र शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो।
मधेश आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानलाई प्रेरणाको स्रोतका रूपमा स्मरण गरियो।मुख्यमन्त्री सोनलले सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै जनताको विश्वास र पार्टीको भरोसा जोगाउन पूर्ण समर्पित रहने प्रतिबद्धता जनाए।\
उनले मधेशको अधिकार, विकास र सामाजिक न्यायमा आधारित सुशासनका लागि निरन्तर सक्रिय रहने बताए।कार्यक्रममा अन्य वक्ताहरूले सोनलको योगदान र मधेश आन्दोलनको ऐतिहासिक महत्त्वलाई उजागर गर्दै लोसपा र मधेश प्रदेशको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरे।