ट्रेन्डिङ

Logout

संसदीय समितिका सभापतिहरूद्वारा गाडी फिर्ता गर्न सुरु

5.6k Shares

प्रतिनिधि सभा विघटनपछि संसदीय विषयगत समितिका सभापतिहरूले संसद सचिवालयबाट लिएका गाडी फिर्ता गर्न थालेका छन् । प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिमध्ये हालसम्म ६ सभापतिले गाडी फिर्ता गरिसकेका छन् ।

सबैभन्दा पहिले पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले गाडी फिर्ता गरेका थिए । त्यसपछि महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साह, नेकपा एमालेकी सचेतक सुनिता बराल, अर्थ समितिका सभापति सन्तोष चालिसे, शिक्षा–स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा र कृषि–सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुशुमदेवी थापाले पनि गाडी बुझाइसकेका छन् ।

तर, बाँकी समितिका सभापतिहरूले भने अझै औपचारिक रूपमा गाडी वा चाबी बुझाउन बाँकी रहेको संसद सचिवालयको सवारी शाखाले जनाएको छ । केही सभापतिका गाडी सचिवालयमै भए पनि चाबी मात्र फिर्ता गर्न बाँकी रहेको जानकारी दिइएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति इश्वरीदेवी न्यौपाने, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडा र नीति तथा दायित्व कार्यान्वयन अनुगमन समितिका सभापति ठाकुर गैरेको गाडी सचिवालयमै छ । यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादव र उद्योग–वाणिज्य तथा श्रम–उपभोक्ता हित समितिका सभापति अब्दुल खानले अझै गाडी फिर्ता गरेका छैनन् ।

सचेतक, प्रमुख सचेतक र मुख्य सचेतकले पनि गाडी सुविधा पाउने भएकाले प्रतिनिधि सभा विघटनसँगै उनीहरूले समेत गाडी फिर्ता गर्नुपर्ने व्यवस्था छ । सवारी शाखाका प्रमुख प्रदीप नेपालका अनुसार गाडी बुझाउन सात दिनको समय तोकिएको छ, जसअनुसार भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको दिनदेखि सात दिनभित्र सबै गाडी फिर्ता गर्नुपर्ने नियम लागू हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार