जेनजी आन्दोलनका क्रममा लागेको भीषण आगलागीले ऐतिहासिक सिंहदरबार खण्डहर बनेको छ। तर पनि यसको शिखरमा फहरिरहेको चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा अझै अडिग छ, जसले नेपालीलाई आशा र विश्वास दिलाइरहेको छ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक केशव बस्यालले आँखा रसाउँदै भने, “यो पीडादायी छ, तर निराश हुनु पर्दैन। सिंहदरबार फेरि उठ्नेछ भन्ने दृढ विश्वास छ।” त्यस्तै कानुन व्यवसायी देवमाया घिमिरे र सुमित्रा श्रेष्ठ दुवैले जलेको दरबार देख्दा हृदय चिरिएको अनुभव व्यक्त गरे।
आइतबार प्रशासन खुलेपछि कर्मचारी र सर्वसाधारण सिंहदरबार अवलोकन गर्न पुगे। धेरैले मौन मुद्रामा तस्बिर खिचे, भने कर्मचारी नवराज रिजाल, रामकृष्ण लामिछानेदेखि सुरक्षा जवान एन्जल सुवेदीसम्म सबैले ऐतिहासिक धरोहर नष्ट भएको पीडा प्रकट गरे।
राणाकालीन समयमा चन्द्र शमशेरले सन् १९०३ मा निजी निवासका लागि बनाएको यो दरबार एक हजार सात सय कोठा भएको भव्य संरचना थियो, जसलाई त्यतिबेला एसियाकै ठूलो दरबार मानिन्थ्यो। विसं २०३० मा पनि आगलागीको शिकार बनेको यो भवन गोरखा भूकम्पपछि पुनर्निर्माण गरी आकर्षक रूप दिइएको थियो।
आज फेरि खण्डहर बनेको भए पनि नेपालीहरू विश्वस्त छन्—सिंहदरबार पुनः उभिनेछ र इतिहास, पहिचान तथा राष्ट्रिय गौरवको प्रतीक बनेर सदैव अडिग रहनेछ।