नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले व्यक्तिगत अहङ्कार र स्वेच्छालाई जित्न नसकेको भन्दै पार्टीबाट अलग हुने घोषणा सामाजिक सञ्जालमार्फत गर्नुभएको छ।
चौधरीले पार्टीको गीत र विधान लेखेर यसको विचार स्थापना गर्नुभएको भए पनि आन्तरिक विवाद र पार्टीभित्रका केही सदस्यका कारण बाटो बदलेको बताउनुभयो। उनले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता दामोदर पण्डितसँग कुनै दुश्मनी नभएको समेत स्पष्ट गर्नुभयो।
चौधरीले राजनीतिक व्यक्ति भएकाले पार्टी बिना बस्न नसुहाउने बताउँदै नयाँ दल र सङ्गठन निर्माणमा लाग्ने र नागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिन्ह कायम राख्ने योजना रहेको जानकारी दिनुभयो।
टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेकाबीच २०७८ मा स्थापित नागरिक उन्मुक्ति पार्टीले छोटो समयमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको थियो।