निजामती कर्मचारीहरूले सिंहदरबारभित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक रूपमा सरसफाइ अभियान सुरु गर्ने आह्वान गरेका छन्।
सामाजिक सञ्जालका समूहहरूमा पोस्ट गर्दै उनीहरूले आ–आफ्नो मन्त्रालय र निकायमा उपस्थित भई सफाइमा खटिन आग्रह गरेका हुन्।
‘सार्वजनिक नीति संवाद’ समूहमार्फत कर्मचारीहरूले फाइल, अभिलेख र कागजातको सुरक्षा गर्दै कार्यालय सफा गर्न र अत्यावश्यक सेवा सकेसम्म नियमित गर्नुपर्नेमा जोड दिएका छन्। निर्वाचित सरकार निष्क्रिय भए पनि स्थायी सरकारका प्रतिनिधि भनेर चिनिने कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनीहरूको भनाइ छ।
यसअघि सर्वोच्च अदालतका कर्मचारीहरूले बुधबारदेखि नै सरसफाइ अभियान सुरु गरी करिब ३ हजार फाइल संकलन गरेका थिए। तर सिंहदरबारमा कुनै पहल नभएपछि कर्मचारीहरूले आफैं सरसफाइ अभियान थालेका हुन्। नेपाली सेनाले त्यहाँभित्र कार्यरत कार्यालयका कर्मचारीबाहेक अरूलाई प्रवेश नदिएको छ।