भारतले नेपालमा जारी जेन-जी आन्दोलनका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । मंगलबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । अनेकौं युवा जीवनको क्षतिबाट हामी गहिरो दु:खी भएका छौं । मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।”
भारतले नेपालसँगको घनिष्ठ मित्रता र छिमेकी सम्बन्धलाई स्मरण गराउँदै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ ।
त्यस्तै, काठमाडौंसहितका विभिन्न सहरमा जारी कर्फ्यू आदेशप्रति ध्यानाकर्षण गराउँदै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनका निर्देशन पालना गर्न भनिएको छ ।
सामाजिक सञ्जाल बन्द र शासन व्यवस्थाविरुद्ध जेन-जी युवाहरूले थालेको आन्दोलनमा अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ भने ४०० भन्दा बढी घाइते भएका छन् ।