रूपन्देही–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लेखजंग थापाले आफ्नो दोस्रो विवाह र त्यसको डिभोर्सबारे प्रमाणसहित सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रमाण पोस्ट गर्दै उनले यसबारे खुलेर व्याख्या गरेका हुन्।
थापाले भनेका छन्, “मेरो ९६ वर्षकी आमा रूपन्देही–३ मै हुनुहुन्छ। पहिलो उडान लिएर आमासँग भेटी उम्मेदवार भएको खुसी बाँड्ने सोच थियो। तर भैरहवामा आमाले आशीर्वाद दिन पर्खिरहनु भएको बेला म काठमाडौंमा मेरो निजी जीवनमाथि उठेका प्रश्नहरूको जवाफ दिइरहेको छु।”
उनका अनुसार व्यक्तिगत जीवनसम्बन्धी प्रश्न गैरकानुनी वा गलत नभए पनि यो व्यक्तिगत नभई पार्टी र यसको सुसंस्कृत राजनीतिक यात्रामाथि गरिएको नियोजित आक्रमण हो।
थापाले स्वीकार गरेका छन् कि उनले दुईपटक विवाह गरेका थिए र तीमध्ये एक सम्बन्ध कानुनी रूपमा टुटिसकेको छ। डिभोर्स भइसकेकी श्रीमतीसँग उनको सन्तान पनि रहेको र साझा अभिभावकत्वका आधारमा सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भनेका छन्, “सम्बन्ध टुट्दा द्वेष राख्नुपर्छ भन्ने छैन। यदि मेरो छोराले बाबु–आमाबीच सुमधुर सम्बन्ध चाहन्छ भने, म बाँचुन्जेल त्यसलाई बलियो बनाइरहन्छु।”
उनले पार्टीलाई यो विषयबारे पहिले नै जानकारी दिइसकेको र कानुनी परामर्शका आधारमा उम्मेदवार छनोटमा आफूलाई अघि सारिएको पनि प्रष्ट पारेका छन्।
राजनीतिमा आएको कारणबारे थापाले भनेका छन्, “मेरो पेशागत जीवन खुला किताबजस्तै छ। तर नागरिकको रूपमा मौलाइरहेको विकृतिले राजनीति रोज्न बाध्य बनायो। राष्ट्रिय स्वतन्त्र पार्टीसँगको मेरो यात्रा व्यक्तिगत महत्वाकांक्षा नभई मुलुक परिवर्तन गर्ने ध्येयका लागि हो।”
थापा थप्छन्, “रूपन्देही–३ को उम्मेदवार म मात्र होइन, यहाँका प्रत्येक नागरिक हुन्। पार्टीले गर्ने कुनै पनि निर्णयलाई म सहर्ष स्वीकार्छु। मेरो अभियान नेता बन्ने होइन, देश बदल्ने हो। रूपान्तरणको यात्रामा आवश्यक त्यागका लागि म तयार छु।”