काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भदौ १७ देखि १९ (सेप्टेम्बर २–४) सम्म स्वीजरल्याण्डको जेनेभामा हुने विश्व युवा शिखर सम्मेलनमा सहभागी हुन आज प्रस्थान गर्नुभएको छ।
द फोरम अफ यङ ग्लोबल लिडर्सले नयाँ युगको नेतृत्वका लागि तयारी गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरेको हो। यस फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेताहरू सहभागी हुन्छन्, जसमा शिक्षा, कला, संस्कृति, खेलकुद, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि र सामाजिक उद्यमशीलता लगायतका क्षेत्रको प्रतिनिधित्व हुनेछ।
सम्मेलनमा विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका युवाबीच आपसी संवाद, सञ्जाल निर्माण, सिकाइ र अनुभव आदानप्रदान हुनेछ। यसले विश्वका फरक–फरक क्षेत्र र परिवेश बुझ्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
प्रस्थान अघि संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले भनिन्, “युवा विश्व नेता चयन भइसकेपछिको यो पहिलो बैठक हो। यसले फरक परिवेशका सम्भावनाहरू जान्ने अवसर दिलाउनेछ। सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विभिन्न विधाका युवा नेतृत्व एकै ठाउँमा हुनु हो। यसले विश्व परिवेश बुझेर आफ्नो क्षेत्रलाई परिपक्वताका साथ अगाडि बढाउन मद्दत गर्नेछ।”
उनका अनुसार परिवर्तनशील संसारको नेतृत्वका लागि साहस, स्पष्ट मार्गचित्र र सामूहिक उद्देश्य सम्मेलनको मुख्य अपेक्षित नतिजा हुनेछ। सम्मेलनमा डंगोलले दुईवटा प्रस्तुतिकरण दिने कार्यक्रम रहेको छ।
गत वैशाखमा डंगोल विश्व आर्थिक मञ्च (World Economic Forum) २०२५ का लागि ‘युवा विश्व नेता’ को रूपमा चयन भएकी थिइन्। युवालाई प्रेरणा दिने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञका रूपमा उनी छनोट भएकी हुन्।
यसपटक दक्षिण एशियाबाट ११ जना प्रतिनिधि छानिएका छन्, जसमा नेपालबाट मात्र डंगोल सहभागी भएकी छन्। विभिन्न ५० देशका ११६ जना युवा नेतृत्व सहभागी हुने समूहमा डंगोल सरकारको प्रतिनिधित्व गर्ने सात क्षेत्रमध्ये एकमात्र नेपाली नेतृको रूपमा उभिएकी छन्।
डंगोल यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हव की सदस्यसमेत रहेकी थिइन्।