लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आगामी श्रावण मसान्तमा केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरेको छ। पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा साउन ८ र ९ गते बसेको विस्तारित बैठकले महाधिवेशन आगामी २०८२ चैत ६ र ७ गते हुने निर्णय गरेको हो।
बैठकले तराई–मधेशमा देखिएका विभिन्न समस्या र चुनौतीप्रति पनि गम्भीर ध्यानाकर्षण गर्दै सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ।
बैठकले बाढी र वर्षात्का कारण तराई–मधेशका किसानहरू गम्भीर रूपमा प्रभावित भएको भन्दै तत्काल आपतकालीन प्याकेज घोषणा गर्न संघीय र प्रदेश सरकारसँग माग गरेको छ। बैठकले पीडित कृषकलाई राहत, क्षतिपूर्ति तथा उत्पादन संरक्षणका कार्यक्रम तत्काल लागू गर्नुपर्ने निष्कर्ष निकालेको छ।
मधेशका विभिन्न जिल्लामा बारम्बार हुने खानेपानीको अभाव र सडकको खराब अवस्थाले जनजीवन प्रभावित भएको भन्दै बैठकले यसलाई सरकारको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ। यस सम्बन्धमा सरकारलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरिएको बैठकले जनाएको छ।
तराई–मधेश क्षेत्रमा बढ्दो मरुभूमीकरण, जलस्रोत सुक्दै गएको अवस्था र वातावरणीय असन्तुलन रोक्न चुरे संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा बैठकले जोड दिएको छ। यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्यमा ठोस कार्ययोजना आवश्यक रहेको बैठकको निष्कर्ष छ।
तराई–मधेशका जिल्लामा बढ्दो लुटपाट, चोरी–डकैती र हत्या जस्ता घटनाप्रति बैठकले गम्भीर ध्यानाकर्षण जनाएको छ। नागरिकको ज्यान–धनको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्ने र कानूनी राज्यको प्रत्याभूति गर्नुपर्ने माग बैठकमार्फत गरिएको छ।
बैठकको अध्यक्षता लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले गरेका थिए। उनले महाधिवेशन पार्टी सुदृढीकरणको महत्वपूर्ण अवसर हुने भन्दै संगठन विस्तार र जनताका मुद्दामा सरकारलाई दबाब दिन पार्टी सक्रिय रूपमा अघि बढ्ने बताए।

