गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन दुवै पक्षबीचको सम्झौतामार्फत मात्र सम्भव हुने बताएका छन् । दुवै पक्षले आफ्नो अडान मात्र अडिग राखे समाधान सम्भव नहुने उनको भनाइ छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लेखकले भने, “जहाँ द्वन्द्व छ, त्यहाँ समाधान पनि हुन्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो ।”
उनले संविधान पनि द्वन्द्वरत पक्षबीचको सम्झौताबाट बनेको स्मरण गर्दै, केही व्यक्ति संविधान असफल बनाउन खोजिरहेको आरोप लगाए । यदि संविधान असफल भयो भने पुनः द्वन्द्व उत्पन्न हुने चेतावनी दिंदै उनले संविधानलाई समयानुकूल संशोधन गर्नुपर्ने र रक्षा गर्नु अपरिहार्य रहेको बताए ।
गृहमन्त्री लेखकका अनुसार पालिकास्तरमा प्राकृतिक स्रोत–साधनको बाँडफाँट र सीमासम्बन्धी विवादले द्वन्द्व सिर्जना गरिरहेको छ । यी समस्याको समाधानका लागि उत्पन्न र सम्भावित दुवै प्रकारका द्वन्द्व व्यवस्थापन गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
द्वन्द्व व्यवस्थापन विषयमा अध्ययन–अध्यापन गर्ने विद्यार्थीहरूको चासो बढ्दो क्रममा रहेको बताउँदै उनले यस क्षेत्रमा छात्रवृत्ति कोटा वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।