शहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको अब मन्त्रालय भित्रैबाट अनलाइनमार्फत् दैनिक अनुगमन हुने भएको छ ।
यस प्रणालीमार्फत त्रिवि क्रिकेट स्टेडियम, सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद भवन, नवलपुर नमूना सदरमुकाम, कोशी अस्पताललगायतका आयोजना प्रत्यक्ष अनुगमन गर्न सकिनेछ । अनलाइन अनुगमनसँगै भौतिक अनुगमनको काम भने यथावत रहने मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज मन्त्रालयमा अनलाइन अनुगमन कक्ष उद्घाटन गरे । उनले अनुगमन प्रणालीले खर्च र समय दुवै बचत हुने र आवश्यक समन्वयमा सहज हुने भएकाले आयोजनाहरू समयमा सम्पन्न गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
“अनुगमनका क्रममा प्रविधिको प्रयोग गर्नाले समस्या तत्कालै समाधान गर्न र कार्यगति बढाउन सहज हुनेछ,” मन्त्री सिंहले भने ।
उनले सुरुबाटै गम्भीर अनुगमन गर्दै निर्देशन पालना भएमा आयोजना समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै अनुगमन कक्ष औपचारिकता मात्र नभई व्यवहारमै परिणाममुखी हुनुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव गोपाल सिग्देलले आगामी दिनमा थप आयोजनाहरूलाई पनि अनलाइन अनुगमन प्रणालीमा जोडिने जानकारी दिए ।