कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग विराटनगरमा सोमबार राति करिब १ घण्टे भेटघाट गरेका छन्।
मुख्यमन्त्री कार्कीले भेटको विषय गोप्य राख्न खोजेका छन्। यद्यपि, उनका सचिवालयले यो भेट अनौपचारिक भएको पुष्टि गरेको छ। स्रोतका अनुसार, पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीबाट आफूलाई अपमानित गरिएको गुनासो व्यक्त गरेकी छन्।
भेटमा मुख्यमन्त्री कार्कीसँगै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र सामाजिक विकासमन्त्री पाँचकर्ण राई पनि उपस्थित थिए। सामूहिक भेटपछि मन्त्रीहरू बाहिर निस्किए, तर मुख्यमन्त्रीले पूर्वराष्ट्रपतिसँग करिब १ घण्टे व्यक्तिगत छलफल गरेका थिए।
तर, नेकपा एमालेले कार्यकर्तालाई पूर्वराष्ट्रपतिसँग भेटघाट नगर्न उर्दी जारी गरेको छ। सोमबार विराटनगर आएकी भण्डारीले मंगलबार दिउँसो पार्टी कार्यालय पाञ्चालिकमा कार्यकर्ता भेट्ने कार्यक्रम तय गरेकी थिइन्, तर एमाले इञ्चार्ज पर्शुराम बस्नेतले उक्त कार्यक्रम नभएको दाबी गर्दै उपस्थित नहुन निर्देशन दिएका छन्।
नेकपा एमालेले सक्रिय राजनीतिमा फर्केकी भण्डारीलाई सदस्यता नदिने निर्णय गरिसकेको छ र मातहतका कमिटीलाई उनका विषयमा छलफल नगर्न निर्देशन पनि जारी गरिएको थियो। तर विराटनगर महानगरपालिकामा भण्डारी समूहको बहुमत रहेकाले भेटघाट कार्यक्रम सञ्चालन गरेपछि, ओली पक्षधर नेताहरूले कार्यकर्तालाई पार्टी कार्यालय नजान फोन गरेर उर्दी दिएका थिए।