भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा आएका मिश्रीले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।
स्रोतका अनुसार मिश्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा बुझाउनेसँगै भ्रमणका एजेन्डाबारे छलफल गर्नेछन्। साथै उनले राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्र मन्त्री आरजु राणा, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत उच्चपदस्थ व्यक्तिहरूसँग पनि भेट गर्ने कार्यक्रम छ।
मिश्रीले काठमाडौंमा हुने वार्ता सकेपछि पशुपतिनाथ मन्दिरको दर्शन गरेर स्वदेश फर्किनेछन्। भारतीय विदेश मन्त्रालयले उनको यो यात्रा दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता भएको जनाएको छ।
प्रधानमन्त्री ओली भदौ ३१ गते दुई दिने भारत भ्रमणमा जाने तय भएको छ। यस क्रममा बिहारको बोधगयामा भारतीय प्रधानमन्त्री मोदी र ओलीबीच भेटवार्ता हुने तयारी छ।