ट्रेन्डिङ

Logout

बागमतीका मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिन तयारीमा, प्रदेशसभा नयाँ भवनबाट सञ्चालन

6.5k Shares

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार अपराह्न ४ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा मुख्यमन्त्री बानियाँले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यक्रम छ।

नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँ साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्त भएको एक सातापछि उनी विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा १६८(४) र प्रदेशसभा नियमावली २०७४ को नियम १४३(१) अनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

यसअघि सत्तारूढ कांग्रेस र एमाले दुवैले आफ्ना सांसदलाई आजको बैठकमा अनिवार्य उपस्थित रहन र मुख्यमन्त्रीलाई समर्थन गर्न ह्वीप जारी गरेका छन्।

प्रदेशसभाको बैठक आजदेखि नयाँ भवनमा सञ्चालन हुने भएको छ। सचिव पौडेलका अनुसार भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भइसकेको छ। २०७७ मङ्सिर १० गते शिलान्यास भएको यो भवन १८ महिनामा सम्पन्न गर्ने योजना थियो तर ठेकेदारको ढिलाइका कारण करिब पाँच वर्षपछि मात्र निर्माण सकियो। अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले रु ५ करोड २९ लाखको लागतमा भवन निर्माण गरेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख इञ्जिनियर सुवोध अधिकारीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार