संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच आउँदो शुक्रबार (अगस्ट १५) अमेरिकाको अलास्का राज्यमा महत्वपूर्ण भेटवार्ता हुने भएको छ। बिबिसीका अनुसार यो भेटको मुख्य उद्देश्य सन् २०२२ फेब्रुअरीमा सुरु भएको रुस–युक्रेन युद्ध अन्त्यका लागि मार्गप्रशस्त गर्नु हो।
दोस्रो कार्यकाल सुरु गरेयता ट्रम्पले ‘२४ घण्टामै युद्ध सकाउने’ दाबी गर्दै शान्ति पहल गर्दै आएका छन्, तर हालसम्मका वार्ता र कूटनीतिक भेटघाटले ठोस परिणाम दिएको छैन। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत बैठकको घोषणा गरेपछि रुसको राष्ट्रपति कार्यालय ‘क्रेमलिन’ ले पनि पुष्टि गरेको हो। क्रेमलिनका अनुसार अलास्का ऐतिहासिक र भौगोलिक दुवै कारणले उपयुक्त स्थान हो।
अलास्का सन् १८६७ मा रुसले अमेरिकालाई बेचेको थियो, र भौगोलिक रूपमा पनि यसको पश्चिमी किनार र रसियाको पूर्वी भागबिच बेरिङ जलसन्धि मात्र पर्छ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले यो बैठकलाई त्रिपक्षीय बनाउन चाहेका छन्। उनले पुटिनसँग प्रत्यक्ष भेट नै शान्तिका लागि एक मात्र उपाय भएको बताएका छन्। तर रुसले युक्रेनसँगको प्रत्यक्ष वार्ता केवल अन्तिम चरणमा मात्र सम्भव हुने अडान राखेको छ। जेलेन्स्कीले युद्धविरामका नाममा भूमिको सौदाबाजी नगर्ने स्पष्ट पार्दै संविधानको उल्लङ्घन नहुने बताए।
यसअघि पुटिनले चीन, भारत, बेलारुस, कजाकस्तान र उज्वेकिस्तानका राष्ट्रप्रमुखसँग छुट्टाछुट्टै टेलिफोन संवाद गरी अमेरिकासँगको वार्ताको तयारीबारे छलफल गरेका थिए। चीनका राष्ट्रपति सी चिनफिङले रुस–अमेरिका बिच निरन्तर सम्पर्क र सम्बन्ध सुधारलाई युक्रेन संकटको राजनीतिक समाधानका लागि सकारात्मक संकेतका रूपमा लिएका छन्।