नेपाली कांग्रेसले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई पदबाट राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ।
संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड सम्बन्धी प्रावधान निष्क्रिय हुने गरी प्रतिनिधि सभाबाट पारित गराउने प्रक्रियामा चलखेल भएको आरोपमा समितिले खतिवडालाई नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको हो। कांग्रेस सह–महामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानबिन समितिले पेश गरेको प्रतिवेदनमा खतिवडाको प्रत्यक्ष जिम्मेवारी रहेको निष्कर्ष निकालिएको छ।
विधेयक पारित भएपछि खतिवडा विवादमा तानिएका छन्, र पार्टीभित्र–बाहिर दुवैबाट उनी पदबाट हट्नुपर्ने आवाज उठिरहेको छ। कांग्रेस स्रोतका अनुसार १–२ दिनभित्र उनलाई राजीनामा दिन औपचारिक निर्देशन दिइनेछ। पार्टीका शीर्ष नेताहरूबीच यसबारे सहमति भइसकेको र सभापति शेरबहादुर देउवाले पनि खतिवडालाई समिति सभापति पदबाट हटाउनुपर्ने धारणा राखेको एक वरिष्ठ नेताले बताएका छन्।