ट्रेन्डिङ

Logout

डा. बाबुराम भट्टराईद्वारा रवि लामिछानेसँग भैरहवा कारागारमा भेट, थुनामुक्त गरेर मुद्दा लड्न दिनुपर्ने माग

4.9k Shares

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जिल्ला कारागार भैरहवामा पुगेर रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन्। लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा सहभागी हुन जाने क्रममा भट्टराईले बिहीबार बिहान लामिछानेसँग भेट गरेका हुन्।

भेटपछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले लामिछानेलाई थुनामुक्त गरेर मुद्दा लड्न दिनुपर्ने बताए। निर्वाचित सांसद भएकाले लामिछाने भाग्ने वा थप अपराध गर्ने सम्भावना नरहेको भन्दै उनलाई थुनामा राख्नु आवश्यक नभएको उनको तर्क छ। ‘जनताको प्रतिनिधि भाग्ने वा अवरोध गर्ने हुँदैन भन्ने अनुमानका आधारमा उनलाई बाहिर राखेर मुद्दा लड्न दिनुपर्छ,’ भट्टराईले भने। उनले लामिछानेलाई जमानतमा रिहा गरेर जनसेवा गर्न दिनुपर्ने वा सांसद पद खारेज गरेर नयाँ निर्वाचन गर्नुपर्ने कुरा सभामुखलाई समेत सुझाएको बताए।

भट्टराईले कारागारमा लामिछानेलाई पत्रपत्रिका उपलब्ध नगराइएको र सूचनाबाट वञ्चित गरिएकोमा आपत्ति जनाए। ‘पञ्चायतकालमा त हामीले पत्रपत्रिका पढ्थ्यौं, यहाँ त त्यस्तो सुविधा पनि छैन,’ उनले भने। साथै, लामिछानेलाई एक्लै साँघुरो कोठामा राखिएको देखेर अप्ठ्यारो महसुस भएको र यसबारे सम्बन्धित निकायमा कुरा उठाउने उनले बताए।

भट्टराईले लामिछाने जनताको प्रतिनिधि र राजनीतिक बन्दी भएकाले सद्भावका साथ भेट्न आएको उल्लेख गरे। उनले सरकारले लामिछानेमाथि प्रतिशोध साँधेको दाबी गर्दै उनको न्यायका लागि हस्ताक्षर अभियानमा समेत सहभागी भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार