नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले आगामी २०८४ सालमा हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत ल्याउने लक्ष्य राखेको बताएका छन्। हाल माओवादीका जनवर्गीय संगठन र विभिन्न मोर्चाहरू ‘असाधारण तरिकाले’ पार्टी निर्माणमा सक्रिय भएको कारण २०८४ को निर्वाचनमा मत बढ्ने उनको दाबी छ।
विगतका स्थानीय तह उपनिर्वाचन, स्ववियु निर्वाचन र नेपाल पत्रकार महासंघको नतिजा विश्लेषण गर्दै उनले माओवादी केन्द्रको मत निरन्तर बढिरहेको बताए। उनले भने, “स्थानीय तहको चुनावमा हामी दोस्रो भयौं, तर पूर्वाञ्चलमा हाम्रो पार्टी पहिलो नै थियो। नयाँ पुस्तामा केही भ्रम र कन्फ्युजन देखिएको थियो, तर त्यो साफ भइसकेको छ। स्ववियु निर्वाचनमा कांग्रेस र एमालेको गठबन्धन हुँदा पनि हामीले धेरै ठाउँमा विजय हासिल गर्यौं।”
उदाहरण स्वरूप, उनले विराटनगरस्थित डिग्री क्याम्पसमा ३० वर्षपछि पहिलोपटक माओवादीले जित हासिल गरेको बताए। साथै, नेपाल पत्रकार महासंघमा कांग्रेस र एमाले मिलेर लडे पनि माओवादी केन्द्रले विभिन्न प्रदेशमा राम्रो सफलता पाएको उनले स्मरण गराए। अन्य संघसंस्थाहरूमा पनि पार्टीले एक्लै लडेर उल्लेखनीय सफलता पाएको उनले बताए।
विगतमा वर्गीय सम्बन्ध कमजोर हुनु र शहीद तथा वेपत्ता परिवारका गुनासोका कारण पार्टी केही कमजोर भएको स्वीकार गर्दै उनले भने, “हामीले विगतका कमी कमजोरीहरूको आत्मसमीक्षा गरेर पार्टीलाई रूपान्तरण र शुद्धीकरण गर्दैछौं।”
२०८१ साल पुसमा बसेको केन्द्रीय समितिको बैठकले २०८४ सालको निर्वाचनमा एकल बहुमत हासिल गर्न समाजवादी क्रान्तिको रुपरेखा र मागपत्र स्पष्ट पारेको उनले बताए।
सापकोटाले पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग अभियानले जनतासँग जोड्न सफल भएको बताउँदै भने, “पार्टी केही समय अल्मलिए जस्तो देखिएको थियो, तर अहिले गति लिएको छ। जनसम्बन्ध सुदृढ भएको छ।”
उनले थपे, “हामी दर्शन, विचार, रणनीति र कार्ययोजनालाई प्रभावकारी बनाउन हुलाकीमार्ग अभियानमार्फत जनतासम्म पुगेका छौं। मधेसका शहीद परिवार र सामाजिक विभेदबारे पनि अध्ययन गरेका छौं। मध्यपहाडी लोकमार्ग अभियानलाई फेरि सक्रिय गर्ने तयारीमा छौं।”
यसरी अग्नि सापकोटाले आगामी निर्वाचनमा माओवादी केन्द्रको मत वृद्धिमा आशावादी हुँदै पार्टीको मजबुत बनाउने दृढ संकल्प व्यक्त गरेका छन्।