नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको निष्कर्ष निकालेको छ। विप्लव नेतृत्वको नेकपाले आफ्नो नेतृत्वमा माओवादी धारका सबै शक्तिहरूलाई समेट्दै अगाडि बढ्ने निर्णय गरेको छ।
स्रोतका अनुसार, सोमबार माओवादी केन्द्रको स्थायी समितिको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेपछि, सोही दिन साँझ विप्लव पक्षको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकले माओवादी केन्द्रसँग एकता गर्नुअघि कारण र आधार स्पष्ट हुनुपर्ने अडान लिएको छ।
प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले माओवादी धारभित्र एकता र ध्रुवीकरण आवश्यक रहेको स्वीकार गर्दै पनि तत्काल माओवादी केन्द्रसँग एकता सम्भव नरहेको बताए। उनका अनुसार, देश जटिल परिस्थितिमा रहेको र यसको समाधानका लागि नेकपाले पहलकदमी लिने निर्णय समेत गरेको छ।
यसका साथै, नेकपाले ३० साउनमा एमसीसीविरुद्ध सातवटै प्रदेशका मुख्य शहरहरूमा विरोध प्रदर्शन गर्ने र आगामी भदौमा केन्द्रीय समिति बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ। एमसीसी राष्ट्रहित विपरीत रहेको भन्दै नेकपाले सो सम्झौताका विरुद्ध आवाज उठाउने बताएको छ।