नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरिएको छ।
सोमबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष नेपाली कांग्रेस र नेकपा एमालेका संसदीय दलले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गर्न दाबी पत्र बुझाएका हुन्। दाबी पत्र बुझाउन कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाल लगायतका नेताहरू उपस्थित थिए।
पत्रमा भनिएको छ कि नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम बानियाँलाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्ति गर्न प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको हो। बागमती प्रदेश सभामा ११० सदस्यमध्ये कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ जना सदस्यहरूको समर्थन रहेको उल्लेख छ।
प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा दिएपछि संविधानको धारा १६९ (१) खण्ड (क) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो। मुख्यमन्त्री लामाको राजीनामा पत्र पनि सोमबार प्रदेश प्रमुख कार्यालयमा बुझाइएको छ।
प्रदेश प्रमुखको कार्यालयले मङ्गलबार दिउँसो २ बजेभित्र दाबी पेश गर्न आह्वान गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो। कांग्रेस र एमालेका नेताहरूले हस्ताक्षर गरेको दाबी पत्र प्रदेश प्रमुखसमक्ष बुझाइएको छ।