सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अबका युवाहरूले सूचना प्रविधि (आईटी) क्षेत्रमा दक्षता हासिल गरी सिर्जनशील भविष्य निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ।
काठमाडौँमा आयोजित “केसीसी एक्जीबिसन–२०२५” को उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले सूचना प्रविधिको माध्यमबाट देशमा रोजगारीका व्यापक सम्भावना रहेको र यसका लागि राज्यले आवश्यक पूर्वाधार तयार गर्नेतर्फ अग्रसर रहेको जानकारी दिनुभयो।
उहाँले विश्वभर सूचना प्रविधिको तीव्र विकास भइसकेको सन्दर्भ दिँदै नेपालमा पनि यसको ठुलो सम्भावना भए तापनि दक्ष जनशक्तिको अभाव, प्रभावकारी नीति नहुनु, र प्रविधिसम्बन्धी पूर्वाधार कमजोर हुँदा व्यवहारमा ल्याउन चुनौतीपूर्ण भइरहेको उल्लेख गर्नुभयो।
"तर, एआईलाई लक्ष्य बनाएर अघि बढ्ने सिर्जनशील युवाहरूका लागि नेपालमै अवसर निर्माण हुँदैछन्," उहाँले भन्नुभयो। साथै, सरकारले यो वर्ष आईटी पूर्वाधार निर्माण, फोर–जी सेवा प्रत्येक घरमा पुर्याउने र फाइभ–जी सेवा सुरु गर्ने तयारी गरिरहेको बताउनुभयो।
मन्त्री गुरुङका अनुसार, "अबको विकास भनेको सूचना प्रविधिको समृद्धि हो।"
कार्यक्रममा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) की अध्यक्ष सुनैना घिमिरेले पनि युवाहरूले सूचना प्रविधिको माध्यमबाट स्वदेशमै बसेर नयाँ–नयाँ काम सुरु गरिरहेको उल्लेख गर्दै मेहनती र ज्ञान भएको व्यक्तिका लागि रोजगारीको अभाव नरहेको बताउनुभयो। क्यानले यस्ता युवाहरूलाई सहयोग र प्रोत्साहन गरिरहेको उहाँले बताउनुभयो।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सचिव डा. रविन्द्र प्रसाद ढकालले भने, "देशमा इन्जिनियरहरूको ठूलो खाँचो छ, तर विदेश पलायन भइरहेकाले समृद्धि कसले ल्याउने भन्ने चिन्ताको विषय बनेको छ।" उहाँले युवाको विदेशप्रेम राज्यले अवसर नदिएको परिणाम हो भन्नुभयो।
यद्यपि, सूचना प्रविधिमा आधारित सिर्जनात्मक कामले केही युवाहरू स्वदेशमै टिक्न थालेको र यसलाई संस्थागत गर्न राज्यले सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
दुई दिनसम्म चल्ने उक्त प्रदर्शनीमा युवाहरूले तयार पारेका नवीन आइटी परियोजना तथा आविष्कारहरू प्रदर्शन गरिएका छन्। यो प्रदर्शनीले युवा प्रतिभा उजागर गर्नुका साथै नेपालमा सूचना प्रविधिको उज्यालो सम्भावना देखाएको छ।