निर्वाचन आयोगले आउँदो कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि सबै राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ।
शुक्रबार आयोगद्वारा प्रकाशित सूचनामा भनिएको छ कि साउन २१ देखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिनेछ।
आयोगले यसअघि नै उपनिर्वाचनका लागि आवश्यक निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ। कार्यतालिका अनुसार, उम्मेदवारहरूको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन साँझमा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ भने असोज २४ गते अन्तिम नामावली प्रकाशित गरिनेछ।
मतदान प्रक्रिया कात्तिक १७ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा सञ्चालन हुनेछ।
यसबाहेक, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत समानुपातिक प्रणालीमा बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरूलाई उम्मेदवार बन्न नपाइने निर्वाचन आयोगले स्पष्ट पारेको छ।