नागरिक उन्मुक्ति पार्टी (नाउपा) की निलम्बित अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न कडा माग गरेकी छन्। उनले पार्टी विधानविपरीत काम गरेको आरोप चौधरीमाथि लगाउँदै कारबाहीको चेतावनीसमेत दिएकी हुन्।
श्रेष्ठले पार्टीको केन्द्रीय कार्यालयको लेटरहेडमा तीन पृष्ठ लामो पत्र सार्वजनिक गर्दै, आफू स्वास्थ्य समस्याका कारण पार्टी गतिविधिमा सक्रिय नभएको बेला चौधरीले विधानविपरीत गतिविधि गरेको आरोप लगाएकी छन्।
उनका अनुसार चौधरीले बिना जानकारी केन्द्रीय समिति बैठक आह्वान गरेका, महासचिवको नातामा निर्वाचन आयोगमा पत्र पठाएका र पार्टी अनुशासनविपरीत व्यक्तिगत निर्णय लिएका छन्।
श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐन, २०७३, पार्टीको विधान र निर्वाचन आयोगमा बुझाइएका कागजात उल्लेख गर्दै चौधरीको यस्तो निर्णय एकल अधिकारमा गर्न नमिल्ने स्पष्ट पारेकी छन्।
यदि २४ घण्टाभित्र स्पष्टीकरण नआएमा पार्टी विधानअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनले चेतावनी दिएकी छन्।
श्रेष्ठले सो पत्र पार्टीको निर्वाचन तथा अनुशासन विभाग र निर्वाचन आयोगमा समेत पठाएको जानकारी दिएकी छन्। साथै उनले आफू अझै पनि वैधानिक अध्यक्ष र पार्टी प्रतिनिधि रहेको दाबी गर्दै ‘बर्खास्त गरिएको’ भन्ने प्रचार भ्रमपूर्ण रहेको उल्लेख गरेकी छन्।