ट्रेन्डिङ

Logout

राजनीतिक दलको मूल्याङ्कन गरी सुविधा दिने निर्वाचन आयोगको नयाँ कार्यविधि

4.3k Shares

निर्वाचन आयोगले अब राजनीतिक दलको व्यवहार र कार्यप्रदर्शनको मूल्याङ्कन गरी अंक प्रदान गर्ने भएको छ। प्राप्त अंकको आधारमा राजनीतिक दलहरूले सरकारबाट प्राप्त गर्ने सुविधा तोकिनेछ।

यसका लागि आयोगले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’को मस्यौदा तयार गरेको छ र राजनीतिक दलहरू, सरोकारवाला तथा विज्ञहरूबाट सुझाव मागिएको छ।

मस्यौदाअनुसार राजनीतिक दलहरूको स्वमूल्याङ्कन प्रणालीको सञ्चालन, निगरानी र निर्देशनका लागि निर्वाचन आयोगका सचिवको संयोजकत्वमा मूल्याङ्कन समिति गठन गरिनेछ। समितिमा आयोगका विभिन्न महाशाखा प्रमुख, सूचना प्रविधि, नियम कार्यान्वयन तथा दल व्यवस्थापन शाखाका प्रतिनिधि रहनेछन्।

समितिको प्रमुख जिम्मेवारी राजनीतिक दलको कार्य, सहभागिता, आन्तरिक लोकतन्त्र र कानुनी पालनजस्ता पक्षको मूल्याङ्कन गर्नु हुनेछ। दलहरूले गरेका स्वमूल्याङ्कन रिपोर्टका आधारमा छानबिन गर्ने अधिकार पनि समितिसँग हुनेछ।

प्राप्त अंकका आधारमा राजनीतिक दलहरूको मूल्याङ्कन सूची तयार गरिनेछ, जसअनुसार राज्यबाट प्राप्त हुने सुविधा वितरण गरिनेछ। मूल्याङ्कनका मापदण्डमा कानुन पालना, निर्वाचनमा सहभागिता, समावेशी संरचना, वित्तीय पारदर्शिता लगायतका विषय समावेश गरिएको छ।

स्वमूल्याङ्कन प्रणाली लागू गर्नुका मुख्य उद्देश्यहरू निम्न छन्:

  • दलहरूलाई कानुनअनुसार कार्य गर्न प्रेरित गर्नु,

  • आन्तरिक लोकतन्त्र मजबुत बनाउनु,

  • सवल/दुर्बल पक्षको पहिचान गरी सुधार ल्याउनु,

  • समावेशी र पारदर्शी प्रणाली निर्माण गर्नु,

  • भावी रणनीति निर्माणमा सहयोग पुर्‍याउनु।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार