काठमाडौँ । नेकपा एमालेले हालै सम्पन्न नवौं केन्द्रीय कमिटी बैठकको निर्णय मातहतका कमिटीलाई पठाएको छ। पार्टीको अन्तरपार्टी निर्देशन (अपानि) मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा कार्यकर्ताको रूपमा नल्याउने उल्लेख गरिएको छ।
अपानिमा भनिएको छ, “सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरव र गहना हुन्। उहाँ सिङ्गै राष्ट्रको नेता भएकाले सक्रिय राजनीतिमा संलग्न हुनुहुन्न। नेकपा एमालेले उहाँलाई कार्यकर्ता बनाउनु हुँदैन। उहाँ गणतन्त्रको सम्मानित व्यक्तित्वको रूपमा रहनुपर्छ।”
बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण प्रक्रिया नमिलेको पनि उल्लेख गरेको छ। साथै, पछिल्लो समय पूर्वराष्ट्रपतिको नाममा पार्टी एकतालाई कमजोर बनाउने बहस र विवादलाई नवौं केन्द्रीय कमिटी बैठकले उपयुक्त निर्णयमार्फत समाधान गरेको जनाइएको छ। अपानिमा यस विषयमा थप छलफल वा विवाद गरेर पूर्वराष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच पुग्ने कुनै पनि कार्य नगर्न निर्देशन दिइएको छ।