काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले आइतबार सिंहदरबारस्थित जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको कार्यालयमा बसेको बैठकले ३ बुँदे निर्णय गरेको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको उक्त बैठकले कार्यक्रम समन्वय, राजनीतिक संवाद र तराई–मधेशको कृषि संकट समाधानमा केन्द्रित निर्णयहरू गरेको छ।
बैठकले मोर्चाका पूर्वनिर्धारित कार्यक्रमहरूलाई सफल बनाउन विभिन्न दलहरूसँग समन्वय गर्ने निर्णय गरेको छ। साथै, अधिकार र पहिचान पक्षधर दलहरूसँग सहकार्य गर्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल जनमुक्ति पार्टीसँग संवाद सुरु गर्ने निर्णय पनि भएको छ।
तराई–मधेशमा वर्षा अभावले धान खेती प्रभावित भएको भन्दै मोर्चाले किसानका लागि तत्काल राहत र दीर्घकालीन समाधानको माग गरेको छ।
कृषि ऋणमा छुट, खानेपानी आपूर्ति, डिपवेल र बोरिङमार्फत सिँचाइ व्यवस्था, बिउबिजन, मलखाद र किटनाशक औषधि सहुलियत दरमा उपलब्ध गराउन तथा अनुदानको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। साथै, चुरे संरक्षण, जलाशय निर्माण र पर्यावरणीय संकट न्यूनीकरणमार्फत दीर्घकालीन समाधान खोज्न पनि जोड दिइएको छ।
