ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले बिपी कोइरालाले देखेको समृद्ध राष्ट्रको सपना ऊर्जामार्फत साकार पार्ने दिशामा अघि बढिरहेको बताएका छन्।
बिपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा आज सुन्दरीजलस्थित बिपी संग्रहालयमा आयोजित "बिपी स्मरण कार्यक्रम"मा मन्त्री खड्काले बिपी कोइरालाको योगदान र आदर्शलाई स्मरण गर्दै उहाँलाई नेपाली जनचेतना र अधिकारका प्रतीकको रूपमा चित्रित गरे।
मन्त्री खड्काले भने, "बिपी कोइराला अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्व मात्र होइनन्, उहाँको दृष्टिकोण र जीवनशैली आजको राजनीतिक परिप्रेक्ष्यमा अझ सान्दर्भिक छन्।"
उहाँले बिपीले व्यक्तिगत सुविधाभन्दा विचार र मूल्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै भन्नुभयो, “बिपीले जेल, यातना सहनुभयो, तर जनताको विश्वास कहिल्यै गुमाउनु भएन। उहाँको मार्ग अझै पनि हाम्रो प्रेरणा हो।”
मन्त्री खड्काले बिपीको आत्मनिर्भर राष्ट्रको सपना ऊर्जाको विकाससँग जोडिएको बताउँदै ऊर्जा उत्पादन, प्रसारण र वितरणमा नेपाल आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको जानकारी दिए।
“ऊर्जाको माध्यमबाट बिपीले देखेको समृद्ध नेपालको सपना साकार पार्न सबैको साझा प्रयास आवश्यक छ,” मन्त्री खड्काले जोड दिए।
उहाँले बिपीको सम्पूर्ण जीवन नेपाली जनता र राष्ट्रको हितमा समर्पित रहेको स्मरण गर्दै राज्यले जनताको आधारभूत आवश्यकता पुरा गर्नुपर्ने जिम्मेवारीप्रति प्रतिबद्ध रहनुपर्ने धारणा राखे।