नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले स्थापित गरेको राष्ट्रिय नीतिको जगमा उभिएको बताउनुभएको छ। बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आयोजित अन्तर्क्रियात्मक कार्यक्रममा देउवाले बिपीको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पार्नुभयो।
‘देश विकास र देशवासीको उन्नतिको आधार बिपी’ विषयक अन्तर्क्रियामा बोल्दै सभापति देउवाले बिपी कोइरालाले जीवनभर लोकतन्त्र, राष्ट्रिय एकता र जनताको हितमा समर्पित भएर राजनीति गरेको स्मरण गर्नुभयो। उहाँले बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरूबीच मेलमिलापका माध्यमबाट मात्र मुलुक समृद्ध र स्वाधीन बन्न सक्ने बिपीको विश्वास आज पनि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो।
देउवाले बिपी कोइराला केवल राजनीतिज्ञ मात्र नभई नेपाली साहित्यको क्षेत्रमा पनि अत्यन्त प्रतिभाशाली व्यक्ति भएको बताउनुभयो। प्रजातान्त्रिक समाजवादका प्रखर चिन्तक बिपीले स्वतन्त्र विचार, मौलिक शैली र गहिरो चिन्तनमार्फत नेपाली वाङ्मयलाई नयाँ उचाइमा पुर्याएको उहाँको भनाइ थियो।
बिपीको राजनीतिक तथा साहित्यिक दृष्टिकोण कांग्रेस मात्र नभई समग्र आधुनिक नेपालको मार्गदर्शन बन्ने आधार भएको सभापति देउवाको धारणा थियो। उहाँले बिपी सदैव आर्थिक समानतासहितको लोकतन्त्रमा विश्वास राख्ने अडिग नेता भएको उल्लेख गर्नुभयो।
भारत निर्वासनमा रहँदा समेत निरङ्कुश पञ्चायती शासनविरुद्ध संघर्षरत बिपीले राष्ट्रियताको मर्म बुझेका कारण ज्यान मुद्दाको डर नमानी नेपाल फर्किएको प्रसङ्ग पनि देउवाले स्मरण गर्नुभयो। बिपीको त्याग र योगदानबाट स्थापित मूल्य र आदर्शहरूकै कारण नेपाली कांग्रेस आजको हैसियतमा पुगेको उहाँको निष्कर्ष थियो।