कुनै समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका नजिकका नेताका रूपमा चिनिएका बालकृष्ण खाँण बुधबार विराटनगरस्थित कोइराला निवास पुगेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणको कोइराला निवासमा उपस्थिति कांग्रेसको आन्तरिक राजनीतिमा गहिरो अर्थ राख्ने रुपमा हेरिएको छ। सभापति देउवासँग चिसिएको सम्बन्धसँगै खाँणले कोइराला निवासमै पत्रकार सम्मेलन गरेका थिए। यद्यपि उनले गुट परिवर्तनको औपचारिक घोषणा नगरे पनि उनको उपस्थितिले शेखर कोइराला नेतृत्वको इतर समूह उत्साहित देखिएको छ।
कृष्णप्रसाद कोइरालादेखि बिपी र गिरिजाप्रसाद कोइरालासम्म बसेको ऐतिहासिक घर अहिले डा. शेखर कोइरालाको भागमा पर्छ। उनी पार्टीभित्र इतर धारको नेतृत्व गर्दै आएका छन्।
खाँणले पत्रकारहरूसँग बोल्दै कोइराला निवास गुटको केन्द्र नभई "पवित्र भूमि" भएको बताए। "यहाँ बीपी, गिरिजाप्रसाद, कृष्णप्रसाद बसेका ठाउँ हो। कोइराला निवासलाई गुटको नजरले होइन, श्रद्धाको दृष्टिकोणले हेर्नुपर्छ," खाँणले भने। उनले कोइराला परिवारलाई ‘महामानव’का रूपमा स्मरण गरे।
पार्टी महाधिवेशनबारे सोधिएको प्रश्नमा खाँणले कांग्रेसको विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष समय थपेर पाँच वर्षभित्र महाधिवेशन गर्न सकिने प्रावधान रहेको जानकारी गराए।
अनुशासनसम्बन्धी प्रश्नमा उनले कारबाही हुनु र त्यसबारे प्रश्न उठ्नु स्वाभाविक भएको बताए। “कुनै निकायले एकपक्षीय वा पक्षपाती व्यवहार गर्नु हुँदैन,” भन्दै उनले कांग्रेस कमजोर हुँदा मुलुकको प्रजातान्त्रिक प्रणालीसमेत कमजोर हुने चेतावनी दिए।
सभापतिसँगको सम्बन्धबारे उनले प्रत्यक्ष टिप्पणी नगरे पनि, पार्टीलाई बलियो बनाउन सबैले मिलेर काम गर्नुपर्ने धारणा राखे। उनकी उपस्थिति र अभिव्यक्तिले कांग्रेसभित्रको गुटीय समीकरणमा नयाँ तरंग ल्याएको राजनीतिक विश्लेषकहरू बताउँछन्।