ट्रेन्डिङ

Logout

कोराला नाका पूर्ण सञ्चालनको तयारीमा सरकार

4.7k Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङको कोराला नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन्। आवश्यक संरचना र पूर्वाधार निर्माणका काम भइरहेको जानकारी उनले दिएको हो।

गए राति प्रधानमन्त्री निवास बालुवाटारमा मुस्ताङ क्षेत्रका संघीय सांसद र स्थानीय जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

उक्त छलफलको प्रसङ्गमा प्रधानमन्त्री ओलीले यही असार २४ गते गोसाइकुण्ड गाउँपालिका–२ मा आएको आकस्मिक बाढीले रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि गरिएको स्थलगत निरीक्षणको पनि स्मरण गरे। निरीक्षणपछि उनले वैकल्पिक मार्ग निर्माण र नाका सञ्चालनका लागि सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको जानकारी गराए।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा बेनीघाट–कोराला सडक निर्माण सुरु गरेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाथ भ्रमण गराएको, मुक्तिनाथ केवलकार सञ्चालनका लागि प्रक्रिया अघि बढाइएको, स्याउको सुपर जोन तथा च्याङ्ग्रापालनलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।

प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको ध्यान मुस्ताङको माथिल्लो भेग — लोमान्थाङ र लो–घेकार दामोदरकुण्ड गाउँपालिकामा केन्द्रित गराउँदै ‘निषेधित क्षेत्र’ घोषणा गरिएकाले विदेशी पर्यटक घटेको र प्रति पर्यटक ५ सय अमेरिकी डलर शुल्कले पर्यटनमा असर परेको जनाउँदै रोयल्टी पुनर्विचारको माग गरेका थिए।

साथै कालिगण्डकी करिडोरअन्तर्गत कागबेनी–कोरला सडक खण्डमा कालोपत्र गर्ने, आवश्यक पूर्वाधार निर्माण गरी कोराला नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउने माग पनि गरियो। कोराला नाकामा भन्सार, अध्यागमन, सुरक्षा पोष्ट, सुख्खा बन्दरगाह र व्यापारिक पूर्वाधार निर्माण आवश्यक रहेको विषयमा प्रतिनिधिहरूले जोड दिए।

सडक निर्माण ढिलाइ र निषेधित क्षेत्रको कार्यान्वयनका कारण माथिल्लो मुस्ताङका होटल व्यवसाय र अन्य स्थानीय व्यवसायी घाटामा परिरहेका छन् भन्ने गुनासो पनि छलफलमा उठाइएको थियो।

प्रतिनिधिमण्डलमा संघीय सांसद योगेन्द्र गौचन थकाली, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्वु गुरुङ, लोप्साङ छोम्पेल विष्टलगायत सहभागी थिए।

हाल कागबेनी–कोरला ९७ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का हुन बाँकी छ। साथै, तातोपानी खोला, दाना खोला, पाण्डा खोला, ताङ्बे खोलामा पुल निर्माणसम्बन्धी ठेक्का तोडिएकाले ती काम पुनः अगाडि बढाउनुपर्ने देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार