प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालैको स्पेन भ्रमणबारे झुटा र भ्रामक प्रचार गरिएको भन्दै गुनासो गरेका छन्। आइतबार झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजना उद्घाटन कार्यक्रममा बोल्दै उनले भ्रमणको सकारात्मक पक्ष ओझेल पार्ने प्रयास भएको टिप्पणी गरे।
प्रधानमन्त्री ओलीले केही विरोधी र अराजक तत्वहरूले “स्पेनमा मान्छे छाडेर आयो” भन्ने झुटा र आधारहीन कुरा फैलाएको आरोप लगाउँदै त्यसप्रति प्रतिक्रिया जनाउनु आवश्यक नरहेको बताए।
उनले देशभर विकासको लहर ल्याउने क्रममा उक्त सडक आयोजना पनि एक महत्वपूर्ण कडी भएको उल्लेख गरे। प्रधानमन्त्रीका अनुसार, सरकार मेचीदेखि महाकालीसम्म थालिएका सबै विकास निर्माणका काम पूरा गर्ने अभियानमा छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले दमकको बेलडाँगी क्षेत्रमा विशाल रंगशाला निर्माण गरिने घोषणा पनि गरे। उनले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले नि:शुल्क अनलाइन कक्षा सञ्चालन गरिएको र त्यसकै कारण यस वर्षको एसईई नतिजा १३ प्रतिशतले सुधारिएको दाबी गरे।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, विश्व बैंकको सहयोगमा निर्माण गरिएको मदनडाँगी–ताराबारी–डिपु सडक नगरपालिकाको गौरवको आयोजना हो। नेपालभरका १७ नमुना सडकमध्ये यो एक हो। ४.८६ किलोमिटर लम्बाइको सो सडक ४४ करोड २४ लाख रुपैयाँको लागतमा समयमै सम्पन्न गरिएको छ। यो आयोजना देशभरका स्थानीय पूर्वाधार विकासमा उत्कृष्ट उदाहरण मानिएको छ।
