राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा केन्द्रीय सदस्य नवराज सुवेदीले आफूलाई अनुशासन समिति अध्यक्ष पदबाट हटाउने निर्णय खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्। आइतबार आयोग पुगेर उनले सात बुँदे उजुरी दिंदै उक्त निर्णय पार्टीको विधानविपरीत रहेको दाबी गरेका हुन्।
उजुरीमा सुवेदीले आफू विधिवत रूपमा पार्टीको अनुशासन समितिको अध्यक्ष रहेको, कार्यकाल अझै बाँकी रहेको र कुनै पनि अनुशासनविपरीत कार्य नगरेको स्पष्ट पारेका छन्। उनी भन्छन्, "पार्टीको विधान अनुसार मलाई केन्द्रीय सदस्यको हैसियतमा अनुशासन समितिको अध्यक्षको जिम्मेवारी दिइएको हो। म त्यो जिम्मेवारी पूरा गरिरहेको अवस्थामा अध्यक्षबाट हटाउने निर्णय गैरकानुनी छ।"
उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उक्त निर्णय तत्काल बदर गरी आफूलाई पुनः पदमा बहाल गरिनुपर्ने माग गरेका छन्। सुवेदीले अध्यक्ष लिङ्देनबाट लिखित जवाफ माग गर्दै आफूविरुद्ध गरिएको कारबाही र त्यसपछि गरिएको पदपूर्ति प्रक्रिया अवैध भएको तर्क गरेका छन्।
असार २५ गते अध्यक्ष लिङ्देनले सुवेदीलाई हटाएर पार्टी उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्षमा नियुक्त गरेका थिए। यस घटनापछि राप्रपाभित्र आन्तरिक विवाद झनै बढेको छ। सुवेदीको उजुरीले नेतृत्वमाथि असन्तोष झल्काएको छ भने पार्टीभित्रको शक्ति सन्तुलनमा समेत असर पारेको देखिन्छ।