काठमाडौं — नेपाल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारले चित्तबुझ्दो काम नगरेको भन्दै असार २१ गते संघीय सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गर्यो। पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका सांसद अरुण चौधरीलाई पनि फिर्ता गर्ने निर्णय गरेको थियो। तर, निर्णय भएको एक हप्ता बितिसक्दा पनि चौधरीले राजीनामा दिएका छैनन्।
राज्यमन्त्री चौधरीका स्वकीय अधिकृत अमनकुमार चौधरीले बिहीबारसम्म राजीनामाबारे जानकारी नभएको बताए। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले असार २२ गते सभामुख देवराज घिमिरेलाई भेटी सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी गराएको थियो। त्यसयता नाउपाका सांसदहरू प्रतिनिधिसभामा प्रतिपक्षी बेञ्चमा बस्न थालेका छन्।
तर, राज्यमन्त्री चौधरी न त संसद् गएका छन्, न मन्त्रालयमा देखिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार उनी केही दिनदेखि मन्त्रालय आएका छैनन्, तर सरकारी सेवा-सुविधा भने प्रयोग गरिरहेकै छन्। यसबीच नाउपाका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेका छन्।
पार्टी सरकारबाट बाहिरिसके पनि चौधरीको राजीनामा नआएकाले नाउपा सत्ता र प्रतिपक्षबीच अन्योलमा परेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार पनि चौधरीको राजीनामा प्राप्त भएको छैन। पार्टीभित्र आन्तरिक समन्वय अभाव र असमझदारीकै कारण यस्तो अवस्था देखिएको स्रोतको भनाइ छ।
यसअघि, सुदूरपश्चिम प्रदेशमा नाउपाका मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपा असन्तुष्ट बनेको थियो। त्यसपछि लुम्बिनी, मधेस र संघीय सरकारबाट समर्थन फिर्ता गरिएको हो। नाउपाका संघीय संसद्मा ४ जना, मधेसमा १, लुम्बिनीमा ४ र सुदूरपश्चिममा ७ जना सांसद छन्।