स्पेनको मेड्रिडमा रहेका प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रवासी नेपाली मञ्चका पदाधिकारी र प्रतिनिधिसँग भेटघाट गर्नुभएको छ। सेभियामा संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्त सम्मेलनसँग सम्बन्धित कार्यक्रम सकिएपछि उहाँले गएराति स्पेनका लागि नेपाली राजदूतको निवासमा यो अन्तरक्रिया गर्नुभएको हो।
भेटमा प्रवासी नेपाली मञ्चका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्पेनमा स्वागत र सम्मान गर्दै नेपालमा उहाँको नेतृत्वमा भइरहेको विकास र समृद्धिको यात्राको सफलताको कामना गरेका छन्।
प्रधानमन्त्री ओलीले विदेशमा सिकेको ज्ञान, अनुभव र पुँजीलाई नेपालको विकास र समृद्धिका लागि प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले नेपाल फर्केर उपयुक्त पेसा व्यवसायमा संलग्न हुन प्रवासी नेपालीलाई प्रोत्साहन गर्नुभयो। साथै, मुलुकमा स्थिरता र विकासका लागि दुई ठूला दलको सहकार्यमा वर्तमान सरकार गठन भएको उल्लेख गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समझदारीअनुसार केही साताअघि नै सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले विगतमा विषम परिस्थितिमा पनि राजनीतिक निकास र स्थायित्व प्रदान गरेको स्मरण गर्दै आगामी दिनमा पनि सहज निकास दिइने बताउनुभयो। गठबन्धन र आफ्नो पार्टीभित्र कुनै समस्या वा विवाद नभएको पनि उहाँले स्पष्ट गर्नुभयो।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवम् एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाल, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, प्रवासी नेपाली मञ्च, अन्तरराष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, युरोप महादेश कमिटीका संयोजक मुक्तबहादुर गुरुङ, मञ्चका स्पेन अध्यक्ष केदार ढुङ्गाना, मेड्रिड कमिटीका अध्यक्ष शिवराज सिग्देल र पोर्चुगलका अध्यक्ष दीपक क्षेत्रीलगायत सहभागी थिए।