परराष्ट्रमन्त्री आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म सञ्चालन हुने खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ सत्रमा सहभागी हुन आज प्रस्थान गरेकी छन्।
उक्त सम्मेलनको मुख्य सत्रसहित विविध उच्चस्तरीय कार्यक्रमहरूमा परराष्ट्रमन्त्री राणाले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियामा नियुक्त नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि, साथै परराष्ट्र, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन्।
एफएओ सम्मेलनपछि मन्त्री राणा इटालीको मिलान र जर्मनीको ह्याम्बर्ग तथा बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजना गरिने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको छ। उनको बिदाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले गरेका थिए।