ट्रेन्डिङ

Logout

युद्धग्रस्त इरान र इजरायलबाट नेपालीको उद्धार सुरु

5.7k Shares

सरकारले युद्धको चपेटामा परेका इरान र इजरायलमा रहेका नेपाली श्रमिकको उद्धार प्रक्रिया सुरु गरेको छ। इरानको राजधानी तेहरानमा रहेका ११ जना नेपालीलाई भारत सरकारको सहकार्यमा आइतबार राति मसहद सहर पुर्‍याइएको छ, जुन तेहरानबाट करिब ९ सय किलोमिटर टाढा पर्छ।

भारतीय दूतावासले उपलब्ध गराएको बसमा उनीहरू मसहद आइपुगेका हुन्। अब भारतले चार्टर्ड उडानमार्फत उनीहरूलाई मंगलबार दिल्ली ल्याउने तयारी गरेको छ। तीमध्ये एक जना, विष्णुप्रसाद बन्जाडे,सँग राहदानी नभएकाले उनको उद्धार तत्काल सम्भव नहुने जनाइएको छ।

उद्धार गरिएका व्यक्तिहरूमा उदयपुरका हरि थापा, उनकी श्रीमती गायत्री कार्की थापा, छोरा उत्सव थापा, बुटवलका विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, गणेश पोखरेल, सुमन गैरे, विष्णुप्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल छन्। यी नेपालीहरू ८ देखि २४ वर्षसम्म तेहरानका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टहरूमा कार्यरत थिए।

कतारस्थित नेपाली दूतावासले उनीहरूसँग समन्वय गरिरहेको जनाएको छ। साथै, तेहरानको जेलमा रहेका पाँच जना नेपालीको उद्धारका लागि प्रक्रिया सुरु भइसकेको दूतावासले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार, इजरायलमा करिब ५,५०० नेपाली श्रमिक कार्यरत छन्। इजरायल–इरान युद्ध सुरु भएपछि धेरै नेपाली सुरक्षित स्थानमा सरेका छन् भने केहीले नेपाल फर्कन चाहेको जनाएका छन्। अहिलेसम्म ९१८ जनाले नेपाल फर्कने इच्छासहित फाराम भरेका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीका अनुसार तीमध्ये ३५ जनाले तत्काल नेपाल फर्कने इच्छा जनाएका छन्। मन्त्रालयले उद्धारका लागि २४ घण्टा सक्रिय ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गरेको छ, जसमा श्रम, कानुन, पर्यटन र गृह मन्त्रालयका सहसचिव पनि छन्।

इजरायलमा अध्ययनका लागि अल्पकालीन बसाइमा रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. प्रनित पोखरेललाई स्थलमार्ग हुँदै इजिप्ट पुर्‍याइएको छ। उनलाई लिन नेपाली राजदूत सुशीलकुमार लम्साल इजरायल–इजिप्टको इलात–तावा नाकामा पुगेका थिए। पोखरेललाई सर्म अलि शेख सहरबाट विमानमार्फत मंगलबार काठमाडौं पठाइनेछ।

राजदूत लम्सालका अनुसार इजरायलबाट उद्धार गरिएका उनी पहिलो नेपाली नागरिक हुन्, र यस उद्धारले भविष्यमा हुने अरू नेपाली उद्धारलाई सहज बनाउने विश्वास व्यक्त गरिएको छ।

इजरायलमा रहेका नेपाली श्रमिकको उद्धारका लागि इजिप्ट र जोर्डन दुबै सरकार तयार रहेको जनाइएको छ। इजरायलबाट निस्कन चाहने नेपालीले आफ्नो विवरण नेपाली सरकारलाई दिइसकेपछि सम्बन्धित देशहरूसँग समन्वय गरी सीमा पार गर्न सकिनेछ। इजरायलतर्फ जोर्डनको वादी अरवा र सेस हुसेन ब्रिज तथा इजिप्टतर्फ इलात–तावा नाका प्रयोग गर्न सकिनेछ।

इजरायलस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष श्रीकृष्ण भण्डारीका अनुसार धेरै नेपाली अहिले सामुदायिक बंकरहरूमा बसिरहेका छन्। उनले भने, “सरकारलाई उद्धारको लागि दबाब त छ, तर तत्काल फर्कने इच्छा राख्ने नेपाली भने कम छन्।”

श्रममन्त्री शरतसिंह भण्डारीका अनुसार, इजरायललगायत पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखिएको छ। साथै, ‘श्रम संसार’ नामक नयाँ अनलाइन पोर्टल र मोबाइल एप पनि संचालनमा ल्याउने तयारीमा रहेको मन्त्रालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार