ट्रेन्डिङ

Logout

आकर्षक रोजगारीको प्रलोभनमा बन्धक बनाइएका ३५ नेपाली युवाको उद्धार

6k Shares

भारतको उत्तराखण्डस्थित उद्यमसिंह नगरमा आकर्षक रोजगारीको प्रलोभनमा परेर बन्धक बनाइएका डोटीका प्रेम मल्लसहित ३५ नेपाली युवालाई सकुशल उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले डोटीको दिपायल सिलगढी नगरपालिका–१ का १९ वर्षीय मल्लसहित लामो समयदेखि बन्धक बनाइएका ३५ जनाको उद्धार भएको जानकारी दिनुभयो।

नेपालस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयको निर्देशनमा उत्तराखण्ड प्रहरी र सामाजिक संस्था किन इन्डियाको सहयोगमा असार ५ गते यी युवाहरूलाई उद्धार गरेको हो। उद्धार गरिएका युवाहरूलाई नेपाल फिर्ता ल्याउन दूतावासले संस्थागत समन्वय गरिरहेको डिएसपी गौतमले बताउनुभयो।

डोटी, दाङ, ताप्लेजुङ, स्याङ्जा, उदयपुर, पाँचथर, पोखरालगायत जिल्लाका १६ देखि ४१ वर्ष उमेर समूहका युवाहरूलाई रोजगारीको प्रलोभन देखाएर बन्दी बनाइएको थियो। उनीहरूलाई कुटपिट र यातनासहित विभिन्न शीर्षकमा रकम असुल गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न कैलाली, धनगढीका वीरेन्द्र शाही ठकुरी र भारतका दुई व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। उत्तराखण्डका अन्य स्थानमा बन्दी बनाइएका थप नेपालीको खोजी र उद्धार कार्य जारी रहेको डिएसपी गौतमले बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार